सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण मुख्यालय पर्साले विशेष सूचनाको आधारमा गरेको छापामारीमा तीन लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल वीरगञ्ज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका कपडाहरू विभिन्न घरमा लुकाइराखिएको भन्ने सूचनाका आधारमा संयुक्त टोलीले छापामारी तथा खानतलासी गरेको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोली, इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले १० वटा गोठ र ११ वटा फुसका घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनि लुकाइराखिएको अवस्थामा चार पोका सुटिङ तथा थानका कपडा र निजकै गोठमा भुसभित्र लुकाइराखिएको अवस्थामा एक पोका कुर्ता–सुरुवालका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका पाँच पोका कपडाको अनुमानित मूल्य तीन लाख रुपैयाँ रहेको बताइएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।