बीरगंज केन्द्रबिन्दु मानिने घण्टाघर तथा आसपासका क्षेत्रमा दैनिक रूपमा हुने ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन्। विशेषगरी साँझपख घण्टाघर, भाडा बजार अगाडिको क्षेत्र, लिङ्क रोड, दुर्गा हल चोक हुँदै माइस्थानतर्फ जाने सडकखण्डमा अत्यधिक सवारी चापका कारण लामो जाम हुने गरेको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार इ–रिक्सा, टेम्पू तथा अन्य सवारीसाधनले घण्टाघर र भाडा बजार अगाडि जथाभावी पार्किङ गर्ने तथा यात्रु चढाउने–ओराल्ने कार्य गर्ने गरेका कारण सडक साँघुरो भई जामको समस्या झन् बढ्दै गएको छ। त्यसका साथै मोटरसाइकल, कार, अटो रिक्सा, बस तथा मालवाहक सवारीको चापले अवस्था थप जटिल बनाएको छ।
एक स्थानीयका अनुसार दैनिक साँझको समयमा घण्टाघर क्षेत्रबाट आवतजावत गर्न निकै कठिन हुने गरेको छ। “इ–रिक्सा र टेम्पूहरू सडक किनारमै लामबद्ध रूपमा रोक्ने तथा यात्रु कुरेर बस्ने गरेका छन्। त्यसैले घण्टाघरदेखि लिङ्क रोड र माइस्थानसम्म सवारीको लामो लाइन लाग्ने गरेको छ,” उनले बताए।
ट्राफिक जामका कारण पैदल यात्रु, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा बिरामी बोकेका सवारीसमेत प्रभावित हुने गरेका छन्। जामका कारण एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारीलाई समेत आवतजावतमा कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ।
स्थानीयवासी तथा व्यवसायीहरूले घण्टाघर क्षेत्रमा इ–रिक्सा र टेम्पूका लागि व्यवस्थित स्ट्यान्डको व्यवस्था गर्न, अव्यवस्थित पार्किङ नियन्त्रण गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।