वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तार कार्य र वर्षायामका कारण उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीहरूको रोलकल तथा निरीक्षण कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई नागरिकको सेवा र सुरक्षामा सक्रिय रहन निर्देशन दिनुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले सडक विस्तारका कारण सहरका विभिन्न क्षेत्रमा असहज अवस्था सिर्जना भएको उल्लेख गर्दै नाला व्यवस्थापन, ट्राफिक समस्या तथा वर्षायामजन्य जोखिम न्यूनीकरणमा नगरप्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न चौबिसै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत बोहराले स्रोत–साधनको सीमितताका बाबजुद नगरबासीको सम्पत्ति तथा सार्वजनिक संरचनाको सुरक्षामा नगरप्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नगरप्रहरीका लागि आवश्यक सामग्री छिट्टै उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अनुशासन र जिम्मेवारीबोधलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।
उहाँले कर्मचारीहरूले ‘चेन अफ कमान्ड’ को पालना गर्दै इमानदार र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै अनुशासनहीन गतिविधि गर्ने कर्मचारीमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिनुभयो।
रोलकल कार्यक्रममा हाल नगरप्रहरीसम्बन्धी विभिन्न गुनासो तथा चुनौतीबारे छलफल गरिएको थियो। साथै, आगामी गहवा क्षेत्रमा आयोजना हुने रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन नगरप्रहरीलाई विशेष निर्देशन दिइएको महानगरपालिकाले जनाएको छ।