जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी मंगलबार बारा जिल्ला अदालतसमक्ष पेश गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–३ निवासी ६१ वर्षीय विलट मिया धोबी रहेका छन्। उनी बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई १ महिना कैद र ९ लाख ८० हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।
त्यसैगरी, कलैया उपमहानगरपालिका–३ निवासी ५५ वर्षीय महेश प्रसाद यादव र ४२ वर्षीया विरमतिया देवी यादव कुटपिट मुद्दामा जनही ३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।
यस्तै, कलैया उपमहानगरपालिका–२५ निवासी २५ वर्षीय रणबहादुर पटेल चेक अनादर मुद्दामा ५०० रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।