रौतहटमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक युवक गम्भीर घाइते भएका छन्। घाइते युवकलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।
गरुडा नगरपालिका–९ गमरिया टोल निवासी २८ वर्षीय गौतम कुमार साहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगलागीका कारण उनको घाँटीमुनिको भागसहित शरीरको करिब ३१।५ प्रतिशत हिस्सा जलेको प्रहरीले जनाएको छ।
घटनापछि गम्भीर घाइते भएका साहनीलाई स्थानीयवासी र आफन्तको सहयोगमा तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। अस्पताल प्रशासनले बुधबार बिहान करिब ४ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल तथा अस्पतालमा पुगेको थियो।
बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप तथा विशेष उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम तर स्थिर रहेको बताइएको छ।
साहनीले के कारणले आत्मदाहको प्रयास गरेका हुन् भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ।