गहवामाई मन्दिरबाट बुधबार भव्य रथयात्रा निकालिएको छ। धार्मिक आस्था र श्रद्धाका साथ आयोजित रथयात्रामा १० हजारभन्दा बढी भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
गहमाई मन्दिर परिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, लिङ्क रोड लगायत वीरगञ्जका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः माईस्थान पुगेर समापन हुने गहमाई माईस्थान सञ्चालक समितिले जनाएको छ।
रथयात्रामा सहभागी भक्तजनहरूले ‘जय माता दी’ लेखिएका झन्डा बोकेर देवीप्रति श्रद्धा व्यक्त गरेका थिए। रथयात्राको क्रममा नगरका विभिन्न स्थानमा धार्मिक भजन–कीर्तन तथा पूजा–आराधना समेत गरिएको थियो।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको थियो। धार्मिक उत्साह र भक्तिमय वातावरणबीच सम्पन्न रथयात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको स्थानीयवासीहरूले बताएका छन्।