वीरगञ्ज भन्सार कार्यालयको यात्री शाखामा भारतीय नम्बर प्लेटका सवारीसाधनको भन्सार तथा निःशुल्क सुविधा ९पास० इन्ट्री प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएको छ। यात्री शाखामा कार्यरत भन्सार अधिकृत भागीरथ साह रौनियार र केही बिचौलियाबीच मिलेमतो गरी आर्थिक चलखेल भइरहेको, सेवाग्राहीलाई अनावश्यक सास्ती दिइएको तथा नियमविपरीत सेवा प्रवाह गरिएको आरोप सेवाग्राहीहरूले लगाएका छन्।
आरोपअनुसार केही बिचौलियामार्फत आर्थिक लेनदेनको वातावरण सिर्जना गरी ‘सेटिङ’ नमिल्ने सेवाग्राहीका सवारीसाधनको भन्सार प्रक्रिया जानाजानी ढिलाइ गरिने, अनावश्यक झन्झट सिर्जना गरिने तथा लामो समयसम्म लाइनमा राख्ने गरिएको दाबी गरिएको छ। साथै, सवारीसाधन उपस्थित नभईकनै पास इन्ट्री जारी गरिएको समेत आरोप लगाइएको छ।
यद्यपि, भन्सार अधिकृत भागीरथ साह रौनियारले आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै ती आरोप निराधार, कपोलकल्पित र तथ्यहीन भएको बताएका छन्। उनले कार्यालयमा प्रचलित कानुन, नियम तथा कार्यविधिअनुसार नै सेवा प्रवाह भइरहेको दाबी गरेका छन्।
यसबीच वीरगञ्ज नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक तथा यात्रुहरू भन्सार प्रक्रियामा हुने ढिलाइका कारण प्रभावित हुँदै आएका छन्।