वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीसँग रकम ठगी गर्ने आरोपमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–४ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने दावा योञ्जन ९३१० रहेका छन्। उनले सर्बिया पठाइदिने भन्दै ७ जनाबाट रु। ५ लाख ४५ हजार ठगी गरेको आरोप छ। उनलाई असार ३० गते भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी बारा आदर्श कोतवाल गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने अनिल कुमार यादव ९२७० पनि पक्राउ परेका छन्। उनले मलेसिया पठाइदिने भन्दै २ जनाबाट रु। २ लाख ७७ हजार ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ। उनलाई असार ३० गते कागेश्वरी मनोहरा–८ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाइदिने आश्वासन दिने तर रकम लिएपछि सम्पर्कविहीन हुने प्रवृत्तिविरुद्ध अनुसन्धानलाई तीव्र बनाइएको छ। वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि प्रक्रिया अघि बढाउँदा आधिकारिक र इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै काम गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।