उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–३० लालपर्सास्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका लागि तीन थान सिलिङ पङ्खा सहयोग गरेको छ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आफ्नै निवासमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य चौकी प्रमुख नवराज ठाकुर तथा स्वास्थ्यकर्मी प्रभास चन्द्र झालाई उक्त पङ्खा हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारूलगायत स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।
गर्मीको समयमा बर्थिङ सेन्टरमा सेवा लिन आउने गर्भवती महिला, सुत्केरी तथा अन्य सेवाग्राहीलाई सहज र आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको संस्थाले जनाएको छ।
उपकार सेवा नेपालले यसअघि पनि पर्सासहित विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवासम्बन्धी विविध सहयोग गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।