वातावरणीय प्रदूषण फैलाएको तथा स्वीकृत वातावरणीय मापदण्ड उल्लंघन गरेको आरोपमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको छ।
उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले वातावरण संरक्षण ऐन, २०६० को दफा ३५ बमोजिम उद्योगलाई उक्त जरिवाना गरिएको जनाएको छ। यसअघि उपमहानगरपालिकाले गठन गरेको वातावरणीय अनुगमन समितिले असार ७ गते उद्योगको स्थलगत निरीक्षण गरी वातावरणीय मापदण्ड पालना भए–नभएको विषयमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगबाट वातावरणीय प्रदूषण फैलिएको तथा स्वीकृत मापदण्डको उल्लंघन भएको निष्कर्षपछि कारबाही गरिएको जनाइएको छ।
उपमहानगरपालिकाले उद्योगलाई तत्काल प्रदूषण नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न लिखित निर्देशनसमेत दिएको छ। साथै तोकिएको मापदण्ड पालना नगरे वा पुनः वातावरणीय प्रदूषण फैलाएको पाइए थप कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।