पर्साको वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण मुख्यालय पर्सा अन्तर्गत सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकाय नेतृत्वको संयुक्त टोलीले बिहीबार अपराह्न जंगल क्षेत्रमा खोजतलास गरेको थियो।
खोजीका क्रममा जंगलको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २१ क्यूबिक फिट सालको गोलिया काठ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नं। १३ गण मुख्यालय पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।