रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि पर्साका स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बाढीपहिरो प्रभावित परिवारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले रसुवामा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो।
विपद्को यस घडीमा एक–अर्कालाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताउँदै अध्यक्ष यादवले बाढीपहिरोबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो। उहाँले प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनामा गाउँपालिकाको सहयोगले केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष यादवका अनुसार विपद्का बेला स्थानीय तह, नागरिक समाज तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ। बाढीपहिरोका कारण घरबार तथा जीविकोपार्जनमा असर परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
यसैबीच, रसुवामा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले पनि प्रभावितहरूको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको आज बसेको उनन्सत्तरीऔँ नगर कार्यपालिका बैठकले रसुवाका बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उपमहानगरपालिकाका लेखा प्रमुख तथा उपसचिव हरिशंकर प्रसाद पुर्वेले जानकारी दिनुभयो।
प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका साथै आगामी दिनमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेकाले उपमहानगरपालिकाले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको पुर्वेले बताउनुभयो।
बैठकले जनप्रतिनिधिहरूको सेवा–सुविधाबाट समेत राहतका लागि योगदान गर्ने निर्णय गरेको छ। जसअनुसार नगर प्रमुखले १० हजार रुपैयाँ, उपप्रमुखले ५ हजार रुपैयाँ तथा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले २–२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। उक्त रकम पनि सम्बन्धित राहत कोषमा जम्मा गरिने जनाइएको छ।
त्यस्तै, उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई समेत स्वेच्छिक रूपमा राहत कोषमा योगदान गर्न आह्वान गर्ने निर्णय बैठकले गरेको छ।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूले प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्ने क्रम बढेको छ। विपद्को समयमा विभिन्न क्षेत्रबाट प्राप्त हुने यस्तो सहयोगले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाको कामलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।