वीरगञ महानगरपालिका–२९ मुसाहिली गाउँमा केही दिनको अन्तरालमा एउटै परिवारका दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र पारेको छ। घटनामा संलग्नताको आशंकामा प्रहरीले मृतक बालबालिकाकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार रोशनीलाई घटनाका सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। घटनाको वास्तविक कारण र मृत्युको प्रकृति सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप विवरण सम्बन्धित परीक्षण तथा अनुसन्धानको रिपोर्ट प्राप्त भएपछि मात्र सार्वजनिक गर्न सकिने जनाएको छ।
प्रहरीका अनुसार मुसाहिली गाउँका नौ वर्षीय आदर्श चौबेको आइतबार र उनकी बहिनी अनुष्का चौबेको मंगलबार केही दिनको अन्तरालमा शंकास्पद अवस्थामा मृत्यु भएको हो। एउटै परिवारका दुई बालबालिकाको छोटो समयको अन्तरालमा मृत्यु भएपछि घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको हो।
अनुष्काको शव परीक्षण तथा आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीको अपेक्षा छ। साथै घटनास्थलको अवस्था, परिवारका सदस्यहरूको बयान तथा अन्य उपलब्ध प्रमाणका आधारमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
मृतक बालबालिकाका मामा प्रिन्सकुमार त्रिपाठीले आदर्शको मृत्युबारे परिवारका अन्य सदस्यलाई पर्याप्त जानकारी नदिई अन्त्येष्टि गरिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार पछि अनुष्काको मृत्यु पनि शंकास्पद अवस्थामा भएपछि परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएको हो।
अनुष्काको मृत्युको प्रकृति आदर्शको मृत्युसँग मिल्दोजुल्दो देखिएपछि परिवारका सदस्यहरू थप शंकित बनेको त्रिपाठीले बताउनुभयो। त्यसपछि घटनाको निष्पक्ष छानबिन गरी बालबालिकाको मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीसमक्ष आग्रह गरिएको उहाँको भनाइ छ।
परिवारका अनुसार मृतक बालबालिकाकी आमाको करिब तीन वर्षअघि मृत्यु भएको थियो। आमाको मृत्यु भएपछि उनीहरूका बुबा तारकेश्वर चौबेको रोशनीसँग दोस्रो विवाह भएको परिवारले जनाएको छ। त्यसपछि बालबालिका परिवारकै संरक्षणमा बस्दै आएका थिए।
यस घटनापछि परिवारका सदस्यहरूले बालबालिकामाथि सौतेनी आमाबाट दुर्व्यवहार तथा शोषण भएको आरोपसमेत लगाएका छन्। तर, उक्त आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। प्रहरीले पनि आरोपका आधारमा निष्कर्षमा पुग्नुभन्दा अनुसन्धानबाट प्राप्त प्रमाण र परीक्षणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ।
घटनापछि मुसाहिली गाउँमा समेत चासो र चिन्ता बढेको छ। एउटै परिवारका दुई बालबालिकाको केही दिनको अन्तरालमा मृत्यु भएपछि स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षलाई अनुसन्धानको दायरामा राखेर आवश्यक सोधपुछ तथा प्रमाण संकलन गरिरहेको जनाएको छ। मृत्युको कारण, घटनाको परिस्थिती र कसैको संलग्नता भए–नभएको विषय अनुसन्धान र शव परीक्षणको रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ।