वीरगञ्जमा दुई समुदायबीच भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनविरुद्ध सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सहाबुद्दिनविरुद्ध सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको हो। अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्यादसमेत थप गराएको जनाएको छ।
वीरगञ्ज महानगरपालिका–२ छपकैयामा झण्डा राख्ने विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो। विवाद बढ्दै गएपछि भएको झडपमा छ जना सर्वसाधारण र एक जना प्रहरी जवान घाइते भएका थिए। घाइतेहरूको उपचार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले सहाबुद्दिनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ।
झडपपछि छपकैयालगायत आसपासका क्षेत्रमा थप तनाव उत्पन्न हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। घटनाको अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र सम्भावित अप्रिय घटना रोक्न आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धान भइरहेको छ। झडपको कारण, घटनाको क्रम तथा त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले आवश्यक प्रमाण संकलन र बयान लिने काम गरिरहेको जनाएको छ।
झण्डा राख्ने विषयबाट सुरु भएको विवादले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थानीयस्तरमा केही समय तनावको वातावरण बनेको थियो। घटनालाई संवेदनशील रूपमा लिँदै प्रहरीले दुवै पक्षसँग समन्वय गरी अवस्था सामान्य बनाउने प्रयास गरेको जनाएको छ।
सहाबुद्दिनविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप भएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।