वीरगञ्ज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहअन्तर्गत अन्तरविद्यालय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वीरगञ्जका विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रा गरी ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले समसामयिक, सामाजिक तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क, विचार तथा धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगिताका लागि ‘कृत्रिम बुद्धिमत्ता ९एआई० विद्यार्थीका लागि अवसर वा चुनौती’, ‘पर्यावरण संरक्षणमा सरकारभन्दा नागरिकको भूमिका’, ‘प्रकृतिमाथि विजय प्राप्त गर्ने मानव सोच’ तथा ‘प्रतिभा पलायन रोक्न राज्य वा युवाको भूमिका’ लगायतका विषय छनोट गरिएको थियो।
कृत्रिम बुद्धिमत्ताको तीव्र विकास र शिक्षामा यसको बढ्दो प्रयोगलाई लिएर विद्यार्थीहरूले एआईले विद्यार्थीका लागि सिर्जना गर्ने अवसर तथा यसका सम्भावित चुनौतीबारे आफ्ना धारणा राखेका थिए। विद्यार्थीहरूले प्रविधिको सही र जिम्मेवार प्रयोग गर्न सके एआई शिक्षाको क्षेत्रमा उपयोगी माध्यम बन्न सक्ने तथा यसको गलत प्रयोगले विद्यार्थीको सिर्जनात्मक क्षमता र अध्ययनमा असर पार्न सक्ने विषयमा समेत तर्क प्रस्तुत गरेका थिए।
त्यसैगरी, पर्यावरण संरक्षणमा सरकारभन्दा नागरिकको भूमिका महत्वपूर्ण हुने वा नहुने विषयमा सहभागी विद्यार्थीहरूले पक्ष र विपक्षमा आफ्ना विचार राखेका थिए। वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको विषयमा विद्यार्थीहरूले विभिन्न उदाहरणसहित तर्क गरेका थिए।
‘प्रकृतिमाथि विजय प्राप्त गर्ने मानव सोच’ विषयमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिको विकाससँगै मानव जीवन सहज भए पनि प्रकृतिमाथि अत्यधिक हस्तक्षेपका कारण वातावरणीय समस्या बढ्दै गएको विषयलाई उठाएका थिए। मानव विकास र प्रकृति संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकताबारे समेत विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
यसैगरी, देशबाट दक्ष जनशक्ति तथा प्रतिभाशाली युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा प्रतिभा पलायन रोक्न राज्यको भूमिका बढी महत्वपूर्ण हो कि युवाको भन्ने विषयमा समेत विद्यार्थीहरूले पक्ष र विपक्षमा तर्क गरेका थिए। देशभित्रै शिक्षा, रोजगारी र अवसरको वातावरण सिर्जना गर्न राज्यको भूमिका तथा देश निर्माणमा युवाको जिम्मेवारीका विषयमा सहभागीहरूले विचार राखेका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो अध्ययन, ज्ञान, तर्क क्षमता तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले निर्धारित समयभित्र विषयवस्तुमा केन्द्रित रहेर आफ्ना विचार प्रस्तुत गर्दै विपक्षी धारणा र तर्कको समेत प्रतिवाद गरेका थिए।
विद्यालयका अनुसार यस्ता अन्तरविद्यालयस्तरीय प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, तार्किक क्षमता, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा आफ्ना विचार अभिव्यक्त गर्ने सीपको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। साथै, समसामयिक विषयमा विद्यार्थीहरूलाई जानकारी हासिल गर्न र कुनै पनि विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्ने बानीको विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने विद्यालयको भनाइ छ।