पर्साको बडनिहार क्षेत्रमा काठ तस्करी भइरहेको सूचनाका आधारमा गरिएको निगरानीका क्रममा ६ वटा साइकलसहित काठ बरामद भएको छ।
गएराति करिब साढे १ बजे बडनिहार प्रहरी चौकीबाट करिब एक सय मिटर अगाडिको बाटो हुँदै जंगलबाट काठ तस्करी भइरहेको सूचना प्राप्त भएपछि बडनिहार वन डिभिजन तथा साझेदारी वनको टोली परिचालन गरिएको थियो।
जितबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले निगरानीका क्रममा ६ वटा साइकलमा काठ लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको हो। टोलीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू साइकलमा लोड गरिएको काठ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।
टोलीले घटनास्थलबाट ६ वटा साइकल तथा साइकलमा लोड गरिएको काठ बरामद गरेको जनाएको छ। बरामद काठ तथा साइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।