बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
कार्यपालिका प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको महानगरपालिकाको कार्यपालिका बोर्ड बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाउने जनाएको छ। जसअनुसार महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट प्रतिवडा १ लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिनेछ।
त्यसैगरी, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवासुविधाबापतको रकम र महानगरमा कार्यरत कर्मचारीको तलबबाट मुख्य सचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकममा समावेश गरिने कार्यपालिका प्रमुख आलमले जानकारी दिनुभयो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आकस्मिक बोर्ड बैठक बोलाएर सहयोग गर्ने निर्णय गरिएको आलमले बताउनुभयो।