वीरगञ्ज । वीरगञ्जमा घरको ढोका फोडेर सुनचाँदीका गहनालगायतका सामान चोरी गरेको आरोपमा प्रहरीले बाराका दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–१० देवपुर टेटाका २० वर्षीय अर्जुन यादव र उनका साथी सोही उमेरका ओमप्रकाश यादव रहेका छन्। उनीहरूलाई चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको कोल्हबी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएकी आरतीकुमारी चौधरीको कोठामा भदौ १४ गते दिउँसो चोरी भएको थियो। चौधरी घरमा नभएको मौका छोपी ढोकाको ताल्चा फोडेर कोठाभित्र प्रवेश गरी सुनचाँदीका गहनालगायतका सामान चोरी भएको प्रहरीको भनाइ छ।
चोरी भएको जानकारी पाएपछि प्रहरीले घटनाको अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिको खोजीलाई तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा अर्जुन यादव र ओमप्रकाश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा चोरी भएका सामान तथा चोरीको अन्य विवरणबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।