वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिरअगाडिको पार्कमा करिब ६५ वर्षीय एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। पार्कको सिँढीमा लामो समयदेखि एउटै अवस्थामा बसिरहेका वृद्धलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीयका अनुसार वृद्ध आज बिहान करिब ११ बजेदेखि पार्कको सिँढीमा भुइँतर्फ अनुहार फर्काएर टुकुरुक्क बसेका थिए। लामो समयसम्म एउटै अवस्थामा देखिएपछि शंका लागेर स्थानीयवासीले दिउँसो करिब ४ बजे प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले वृद्धलाई मृत अवस्थामा फेला पारेको जनाएको छ। मृतकले आकाशे रङको पाइन्ट, सोही रङको हाफसर्ट र खैरो रङको इस्टकोट लगाएका थिए। उनको चस्मा भने भुइँमा झरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।