वीरगञ्ज । ‘युवा शक्ति राष्ट्रिय शक्ति’ भन्ने नाराका साथ वीरगञ्जस्थित डीएभी आरबी केडीआई स्कुलमा नेत्रदानसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। दृष्टिविहीनका लागि ‘दृष्टि २।०’ अभियानअन्तर्गत ‘नेत्रदान एक वरदान’ भन्ने मुख्य सन्देशसहित कार्यक्रम आयोजना गरिएको हो।
तेरापन्थ युवा परिषद् वीरगञ्ज र लायन्स क्लब अफ वीरगञ्ज सांस्कृतिक गोल्डको समन्वयमा आयोजित कार्यक्रममा नेत्रदानको महत्त्व, आवश्यकता तथा यसबाट दृष्टिविहीन व्यक्तिको जीवनमा पर्न सक्ने सकारात्मक प्रभावका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी तथा अन्य उपस्थित व्यक्तिहरूलाई नेत्रदानसम्बन्धी आवश्यक जानकारी दिँदै यसबारे समाजमा रहेको भ्रम हटाउन र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा वक्ताहरूले नेत्रदानले दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्ने अवसर प्रदान गर्न सक्ने भएकाले यसलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताए। उनीहरूले नेत्रदानसम्बन्धी जानकारी विद्यालय तथा समुदायस्तरमा पुर्याउन सके यस अभियानलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा तेरापन्थ युवा परिषद् वीरगञ्जका अध्यक्ष सुनील दुगार, नेत्रदान इन्टरनेशनलका सहप्रभारी लोकेश जैन, नेत्रदान संयोजक सौरभ जैन र पंकज वैद्य, तेरापन्थ युवा परिषद्का सदस्य आशीष चोरडिया तथा नेत्र प्रदर्शन अधिकृत हरिकान्त साहलगायतको सहभागिता रहेको थियो।