वीरगञ्ज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्नुभएको छ। चाचान समूहअन्तर्गतका विभिन्न उद्योग तथा संस्थाहरूको तर्फबाट उक्त रकम एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।
चाचान समूहका अनुसार सहयोग रकममध्ये नारायणी आयल रिफाइनरीबाट ४१ लाख रुपैयाँ, नारायणी मोल्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख रुपैयाँ र आदर्श पोली प्लास्टिक प्रालिका तर्फबाट ५ लाख रुपैयाँ गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।
प्राकृतिक विपद् तथा संकटको समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने बताउँदै चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले विपद्को समयमा सबै नेपाली एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पीडित नागरिकको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्नुभयो।
चाचानले दैवी प्रकोपका कारण प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताउँदै विपद्को समयमा निजी क्षेत्र तथा सामाजिक संघसंस्थाले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यसैगरी, मारवाडी सेवा ट्रस्ट वीरगञ्जका अध्यक्षसमेत रहनुभएका बाबुलाल चाचानले ट्रस्टका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। उक्त रकमको चेक कोषको खातामा जम्मा गरिएको मारवाडी सेवा ट्रस्टका महासचिव नरेन्द्र सहलले जानकारी दिनुभएको छ।
चाचान समूह तथा मारवाडी सेवा ट्रस्टबाट गरिएको सहयोगले विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने विश्वास गरिएको छ।