वीरगञ्ज । भोटेकोशी बाढीपीडितको सहयोगार्थ बैंकर्स एसोसिएसन वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा नौ महिलासहित १११ जनाले रक्तदान गरेका छन्। विपद्का कारण प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकिङ क्षेत्रसँग आबद्ध व्यक्ति तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
एसोसिएसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले विपद्का बेला रक्तदानको महत्त्व अझ बढ्ने बताउनुभयो। उहाँले आपत्कालीन अवस्थामा रगतको आवश्यकता झनै बढ्ने भएकाले रक्तदानमार्फत मानव जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी दाहालले रक्तदान गर्नु जीवनदान गर्नुजस्तै भएको बताउँदै मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले विपद्को समयमा सहयोग र सहकार्यको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदानजस्ता मानवीय कार्यमा सहभागी हुने सबैलाई धन्यवादसमेत दिनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं, युवा नेता अरविन्द सिंहलगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले विपद्को समयमा पीडितको सहयोगका लागि विभिन्न क्षेत्रबाट हुने सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने बताएका थिए।
रक्तदान कार्यक्रमका क्रममा संकलित रगत आवश्यक परेका बिरामी तथा विपद्का बेला आवश्यक पर्ने अवस्थामा प्रयोग गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। नियमित रक्तदानले रगतको अभाव हुन नदिन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्तदान कार्यक्रमका लागि आवश्यक प्राविधिक सेवा प्रदान गरेको थियो। रक्तदान कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक तथा प्राविधिक टोलीले आवश्यक समन्वय गरेका थिए।
कार्यक्रमबारे नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलास कुमारले जानकारी दिनुभएको छ।