भारतबाट हुने अवैध रूपमा कुखुरा तथा चल्लाको आयात रोक्न माग गर्दै रौतहटका एक किसान आमरण अनशनमा बसेका छन्। रौतहट कुखुरा व्यवसायी किसान संघका सचिव राजेशम शाहले जिल्ला प्रशासन कार्यालय अगाडि आजदेखि आमरण अनशन सुरु गरेका हुन्।
भारतबाट अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिँदा जिल्लाका स्थानीय किसानले उत्पादन गरेका कुखुरा तथा चल्ला बिक्री गर्न नसकेको संघको दाबी छ। अवैध आयातका कारण स्थानीय किसान तथा कुखुरा व्यवसायीको व्यवसाय प्रभावित हुनुका साथै उत्पादनको उचित बजार नपाएको उनीहरूको गुनासो छ।
स्थानीय किसानको उत्पादनलाई संरक्षण गर्दै कुखुरा व्यवसायलाई व्यवस्थित बनाउन भारतबाट हुने अवैध आयात तत्काल रोक्नुपर्ने माग शाहले राखेका छन्। सीमा क्षेत्रमा हुने अवैध कुखुरा तथा चल्लाको आयात नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनको माग छ।
स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न र किसानलाई व्यवसायबाट पलायन हुनबाट जोगाउन सरकारले अवैध आयात नियन्त्रणमा कडाइ गर्नुपर्ने संघले जनाएको छ।