नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आज विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
शाखा कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको योगदानको स्मरण गर्दै झण्डोत्तोलन तथा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्दै आगामी दिनमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको थियो।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका कार्यसमिति सदस्य निना थ्रौनेर, रेशमकोठी उपशाखाका अभिलास गुप्ता, हरिन्द्र प्रसादलगायतको सहभागिता रहेको थियो।