वीरगञ्ज महानगरपालिका–१६, इनर्वा भन्सारस्थित दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये २ जना भारतीय महिला र २ जना भारतीय पुरुष रहेका छन्।
वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अनैतिक गतिविधि हुने गरेको सूचनाका आधारमा अभिषेक होटल र बेदामी होटलमा छापा मारेको हो।
स्रोतका अनुसार बेदामी होटलबाट भारतको बिहार, पूर्वी चम्पारण, चिउटाहा–९ की परिवर्तन नाम ‘राको देवी’ र पूर्वी चम्पारणकै वडा नं। ६ की परिवर्तन नाम ‘जुजु यादव’लाई नियन्त्रणमा लिइएको छ। यस्तै, अभिषेक होटलबाट बिहारका अक्षय सिंह र मोतिहारी, पूर्वी चम्पारणका दिलीप कुमार साहलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
स्रोतले नियन्त्रणमा लिइएकामध्ये रक्सौलस्थित एक अस्पतालमा कार्यरत चिकित्सक र नर्ससमेत रहेको दाबी गरेको छ। तर, उनीहरूको पेसागत परिचयबारे प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन।
प्रहरीले नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान अघि बढाएको जनाएको छ।