सडक विस्तार तथा अतिक्रमण हटाउने क्रममा सडक आसपासका संरचनाहरू भत्काइएपछि वीरगन्जको मुख्य बजार क्षेत्रका अधिकांश सीसीटीभी क्यामेरा बन्द भएका छन्। सडक विस्तारका क्रममा क्यामेरा जडान गरिएका संरचना तथा पोलहरू हटाइएपछि मुख्य बजार क्षेत्रको सुरक्षा निगरानी प्रभावित भएको प्रहरीले जनाएको छ।
सीसीटीभी क्यामेरा निष्क्रिय भएपछि बजार क्षेत्र तथा मुख्य सडकमा हुने गतिविधिको नियमित निगरानी गर्न समस्या भएको प्रहरीको भनाइ छ। विशेषगरी आपराधिक घटना, चोरी, लुटपाट, दुर्घटना तथा अन्य अवाञ्छित गतिविधिको निगरानी र घटनापछि अनुसन्धान गर्न सीसीटीभी फुटेज महत्वपूर्ण हुने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टका अनुसार वीरगन्जमा जडान गरिएका सीसीटीभी क्यामेराबाट प्राप्त फुटेजले विगतमा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको थियो। घटनामा संलग्न व्यक्तिको पहिचानदेखि उनीहरूको आवतजावत तथा घटनास्थल आसपासको गतिविधि पत्ता लगाउन सीसीटीभी फुटेज उपयोगी हुने गरेको उहाँले बताउनुभयो।मुख्य सडक क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा बन्द भएपछि आपराधिक गतिविधिमा संलग्न व्यक्तिको आवतजावत तथा गतिविधि निगरानी गर्न कठिनाइ भएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो। उहाँका अनुसार सडक विस्तारका कारण क्यामेरा हटाउनुपर्ने अवस्था आएपछि हाल मुख्य बजार क्षेत्रमा सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन वैकल्पिक व्यवस्था आवश्यक भएको छ।
प्रहरीले मुख्य सडक आसपासका क्षेत्रमा पुनः सीसीटीभी सञ्चालनमा ल्याउने तयारी थालेको जनाएको छ। त्यसका लागि सेफर वीरगन्ज, वीरगन्ज उद्योग वाणिज्य संघ, स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो।
सडक विस्तारपछि क्यामेरा जडानका लागि उपयुक्त स्थानको पहिचान गरी वैकल्पिक स्थानमा नयाँ क्यामेरा जडान गर्ने तयारी भइरहेको छ। सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी सकेसम्म चाँडो मुख्य बजार क्षेत्रको सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने गरी सीसीटीभी प्रणाली पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।वीरगन्जको मुख्य बजार तथा व्यस्त सडक क्षेत्रमा सीसीटीभी निगरानीलाई निरन्तरता दिन सके आपराधिक गतिविधि नियन्त्रणसँगै घटना भएपछिको अनुसन्धानमा समेत सहज हुने प्रहरीको विश्वास छ।