बाराको धुधौरा–पिलुवा सडकखण्डमा शनिवार दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुर–सिमरा उपमहानगरपालिका–१६, पिलुवा निवासी ५८ वर्षीय देवबहादुर चौरेल रहेका छन्। चौरेल बाराको पथलैया उपमहानगरपालिका–२४, मनहरुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चौरेल प्रदेश २–०३–०० ए ०२२६ नम्बरको मोटरसाइकलमा पिलुवाबाट पथलैयातर्फ आउँदै हुनुहुन्थ्यो। सोही क्रममा बैजौरा पुलमा निजगढतर्फ जाँदै गरेको ना।१ ओ।यू। ३४ नम्बरको ट्रिपरले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका चौरेललाई तत्काल उपचारका लागि गोडनस्थित बयोधा मेडिसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि प्रहरीले ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।