नेपाल बार एसोसिएसन पर्साले बाढीपीडित तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि एक लाख ५८ हजार रुपैयाँ प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा गरेको छ।
नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रावनारायण कुर्मीका अनुसार बारका पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग आवश्यक पर्ने भएकाले बारका पदाधिकारी तथा सदस्यहरूबाट सहयोग रकम संकलन गरिएको उहाँले बताउनुभयो।
अध्यक्ष कुर्मीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताउँदै मानवीय भावनाका साथ बारका पदाधिकारी तथा सदस्यहरूले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको जानकारी दिनुभयो।
उहाँले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न संघसंस्था, पेशागत संगठन तथा नागरिक समाजको समेत सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाल बार एसोसिएसन पर्साले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।