बाराको पचरौता नगरपालिका–७ बाट प्रहरीले १५१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयतm खटिएको टोलीले बुधबार राति पचरौता–७ स्थित बेनौली चोकबाट गाँजा फेला पारेको हो ा
खेतको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्तिहरूले पिठ्युँमा झोलाजस्तो बनाएर गाँजाका पोका बोकी ल्याइरहेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा सबै जना फरार भएका थिए। भाग्ने क्रममा उनीहरूले बोकेर ल्याएको गाँजाका पोका धान खेतमा फालेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले खेतबाट फालिएको ९ वटा पोका गाँजा बरामद गरी तौल गर्दा जुटको बोरासहित कुल १५१ किलो रहेको पाइएको हो।
बरामद गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको प्रहरीले जनाएको छ। गाँजा फालेर फरार भएका व्यक्तिहरूको खोजी तथा पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।