पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिष्वा क्षेत्रमा नेपाल–भारत सीमा नजिक सञ्चालनमा रहेका मदिरा पसल हटाउन प्रशासनले सम्बन्धित व्यवसायीलाई एक महिनाको समय दिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार व्यवसायीलाई आगामी असोज १८ गतेसम्म आफ्ना मदिरा पसल अन्यत्र स्थानान्तरण गर्न वा आवश्यक व्यवस्थापन गर्न समय दिइएको प्रहरीले जनाएको छ।
नेपाल–भारत सीमाबाट करिब आधा किलोमिटरभित्र मदिराजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको भए पनि पर्साको भिष्वालगायत केही सीमावर्ती क्षेत्रमा उक्त नियम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो।
प्रशासनले सीमा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री–वितरणसम्बन्धी नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पसल हटाउन समयसीमा तोकेको जनाएको छ।