बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उपचारमा आवश्यक रक्तसहयोग उपलब्ध गराउने उद्देश्यले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रोट्र्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजना तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा अस्पताल परिसरस्थित पार्किङ क्षेत्रमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। रक्तदान कार्यक्ममा कुल ६० पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
विपद्का कारण विभिन्न स्थानमा नागरिक प्रभावित भइरहेका बेला उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव हुन नदिन अभियान आयोजना गरिएको आयोजकको भनाइ छ। संकलित रगत विपद् प्रभावित तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीको उपचारमा प्रयोग हुने जनाइएको छ।
रक्तदान अभियानले विपद्को समयमा रगतको उपलब्धता सहज बनाउन तथा प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार मानवीय सेवाको भावनासहित आयोजना गरिएको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षण तथा प्रशासनिक कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।