काठ तस्करीको आरोपमा पक्राउ परेका एक व्यक्ति प्रहरीको नियन्त्रणबाट हत्कडीसहित फरार भएका छन्। पर्साको वडा नम्बर २ हरपुर गोडपसरा जाने खेतको बाटोबाट प्रहरीले काठ तस्करीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा केही व्यक्तिहरू खेतको बाटो हुँदै साइकलमा काठ ढुवानी गरिरहेको अवस्थामा चौकी मानवाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि काठ तथा साइकल छाडेर अन्य व्यक्तिहरू फरार भएका थिए भने गस्ती टोलीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिलाई हत्कडी लगाएर घटनास्थलमा राखेको थियो। बरामद काठलाई प्रहरी चौकीमा ल्याउन ट्र्याक्टरमा लोड गर्ने क्रममा प्रहरीको निगरानीबाट ती व्यक्ति हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ।
फरार हुने व्यक्ति पर्सागढी नगरपालिका–५ निवासी दिनेश पासवान रहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरीले फरार व्यक्तिको खोजीका लागि विभिन्न स्थानमा प्रहरी परिचालन गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
ा