वीरगञ्ज महानगरपालिका–१० का होटल व्यवसायी राजेश सिंहको अगुवाइमा भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री हस्तान्तरण गरिएको छ। स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको सहयोगमा संकलन गरिएको राहत सामग्री झेङ्गी पर्साका संयोजक महादेवप्रसाद कुर्मीलाई हस्तान्तरण गरिएको हो।
बाढीबाट प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सामग्री संकलन गरिएको जनाइएको छ। संकलित राहत सामग्रीमा २१ बोरा चामल, ७० प्याकेट चिउरा, २५ कार्टुन साउचौ, बिस्कुट, जुत्ताचप्पल, कपडा, कम्बल, सेनेटरी प्याडलगायतका सामग्री रहेका छन्। बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षासहित सामग्री संकलन गरिएको हो।
राहत सामग्री बुझ्दै पर्साका संयोजक महादेवप्रसाद कुर्मीले संकलित सामग्री दुई–तीन दिनभित्र प्रभावित क्षेत्रमा पुर्याई बाढीपीडित परिवारलाई वितरण गरिने जानकारी दिए। उनले वास्तविक पीडितसम्म राहत सामग्री पुर्याउने गरी आवश्यक समन्वय भइरहेको बताए। साथै, विपद्को समयमा राहत संकलन तथा सहयोगमा जुट्ने राजेश सिंहसहित सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।