बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथ्लैयामा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ वडा अध्यक्षको समन्वय तथा सहयोगमा पथ्लैया युवा जागरण क्लब र पथ्लैया दिव्यज्योति क्लबले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन्।
बाढी तथा प्राकृतिक विपद्का कारण घाइते तथा बिरामीको उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्त अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय युवादेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा १२ महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए। रक्तदान गर्नेहरूमा युवाको सहभागिता उल्लेख्य रहेको आयोजकले जनाएको छ।
विपद्को समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। आयोजकले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्थानीयवासी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ।
८