पर्साको बहादुरमाई नगरपालिकाले रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित पीडित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री विपद् उद्धार कोषमा २५ लाख ११ हजार १०० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
नगरपालिकाका अनुसार सहयोग रकममध्ये कार्यालयको तर्फबाट ५ लाख ७५ हजार रुपैयाँ, नगरपालिकाका जनप्रतिनिधिहरूबाट १ लाख ७२ हजार रुपैयाँ तथा कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलगायतबाट १७ लाख ६४ हजार १०० रुपैयाँ संकलन गरी कोषमा जम्मा गरिनेछ।
भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बहादुरमाई नगरपालिकाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।