वीरगञ्जको लिंक रोडस्थित होटल अमन प्यालेसमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको सुल्तानपुरका विशाल कुशवाहा रहेका छन्। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरो–२ बाट खटिएको टोलीले आज बिहान होटलमा छापा मारेको थियो।
छापा मार्ने क्रममा होटलको कोठा नम्बर २०५ मा रहेका कुशवाहालाई १३१ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर छिन्नमस्ताले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा होटलमा निगरानी बढाइएको थियो। सोही क्रममा शंकास्पद अवस्थामा रहेका कुशवाहाको कोठा खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो।
पक्राउ परेका कुशवाहा र बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।