बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन गरिब, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको कार्यलाई तीव्रता दिएको छ।
हालै सम्पन्न उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा नम्बर १, २ र १० मा पहिचान गरिएका कुल ६ सय ५९ परिवारको विवरण स्वीकृत गरेको उपमहानगरपालिकाले जनाएको छ। भूमिहीन गरिब, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि आवेदन दर्ता गरी तयार पारिएको विवरणका आधारमा प्रक्रिया अघि बढाइएको हो।
उपमहानगरपालिकाका अनुसार आवेदन तथा पहिचानका आधारमा तयार पारिएको विवरणमा २ हजार ४२ जना भूमिहीन गरिब, २ सय ४८ जना भूमिहीन सुकुम्बासी र १ हजार ३ सय २८ जना अव्यवस्थित बसोबासी रहेका छन्।