पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशिताको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताउनुभएको छ।
वीरगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेपालले मुलुकमा प्राप्त लोकतान्त्रिक उपलब्धि र संवैधानिक अधिकारको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायतका विषय संविधानका महत्वपूर्ण आधार भएकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
नेपालले सरकार सञ्चालनका क्रममा जनताका आधारभूत आवश्यकता तथा समस्यामा पर्याप्त ध्यान दिन नसकेको आरोपसमेत लगाउनुभयो। मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि छिमेकी मुलुक भारत र चीनसँग आवश्यक सहयोग र सहकार्य लिनुपर्ने उहाँको भनाइ थियो। नेपालले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।