वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले सडकको सीमाभित्र रहेका बाँकी संरचना हटाएर सोमबारसम्म सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ।
हेटौँडास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आइतबार समाधान गर्ने प्रयास भइरहेको छ। विवाद समाधान भएसँगै सोमबारसम्म सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
उनका अनुसार सडकको सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको छ भने बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको छ।
हाल सिद्धार्थ बैंक, पम्पम बिल्डिङ तथा हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए।
बाँकी संरचना हटाउने काम सम्पन्न भएपछि वीरगञ्जको मुख्य सडक विस्तारले पूर्णता पाउने सडक डिभिजन कार्यालयले जनाएको छ।