पर्साको पोखरिया नगरपालिका–५ बाट चोरी भएको ट्र्याक्टर प्रहरीले ठोरीबाट बरामद गरेको छ। ट्र्याक्टर चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना फरार रहेको जनाएको छ।
प्रहरीका अनुसार ट्र्याक्टर चोरीमा संलग्न रहेको आरोपमा पोखरिया नगरपालिका–५ रानीगञ्ज निवासी सुनु साहलाई पक्राउ गरिएको हो।
ट्र्याक्टरधनी दिनेश चौरसियाका अनुसार ना।४ त ४८२ नम्बरको सोनालिका ट्र्याक्टर गण्डक नहरको उत्तरपट्टि रहेको पशुपालन फार्मबाट चोरी भएको थियो। ट्र्याक्टर चोरी भएको जानकारी पाएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त ट्र्याक्टर ठोरीबाट फेला पारेको हो।
प्रहरीले ट्र्याक्टर चोरीमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको जनाएको छ। पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।