आज हरितालिका तीजसँगै गणेश चतुर्थी तथा चौथीचन्द्र पर्व वीरगञ्जमा धार्मिक आस्था र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्दै तीजको व्रत बस्ने परम्परा रहँदै आएको छ।
तीजका अवसरमा महिलाहरूले निराहार वा फलाहार व्रत बसी भगवान शिव र माता पार्वतीको पूजा गर्ने, मन्दिरमा दर्शन गर्ने तथा परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गर्दछन्। तीजको व्रत बसेमा पारिवारिक सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
यसैबीच वीरगञ्जमा आज गणेश चतुर्थीसमेत विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ। गणेश चतुर्थीका दिन भगवान गणेशको पूजा–आराधना गरी विघ्न–बाधा हट्ने, सुख–शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
वीरगञ्जस्थित माइस्थान मन्दिर परिसरमा आजदेखि गणेश चतुर्थी महोत्सवसमेत सुरु भएको छ। माइस्थान युवा क्लब, जय गणेश धाम कार्यसमिति तथा जय गणेश पूजा संस्था लगायतको आयोजनामा महोत्सव सुरु गरिएको हो।
आयोजकका अनुसार महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ। महोत्सव अवधिभर भगवान गणेशको विशेष पूजा–आराधना, धार्मिक अनुष्ठान तथा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। महोत्सवमा वीरगञ्ज तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
यसैगरी आज चौथीचन्द्र पर्वसमेत वीरगञ्जमा धार्मिक विधिअनुसार मनाइँदैछ। तीज, गणेश चतुर्थी र चौथीचन्द्र पर्व एकै दिन परेकाले वीरगञ्जका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा भक्तजनको चहलपहल बढेको छ। पर्वका अवसरमा श्रद्धालुहरूले पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरिरहेका छन्।