सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा क्षेत्रमा भन्सार छली नेपाल भित्र्याइँदै गरेका विभिन्न अवैध सामान तथा अवैध रूपमा बालुवा उत्खननमा प्रयोग भएको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार असोज १६ र १७ गते पर्साका विभिन्न सीमा क्षेत्रमा खटिएको टोलीले कपडा, स्मार्ट टिभी, एसी, हार्डवेयरका सामान, औषधिलगायतका सामान बरामद गरेको हो।
असोज १६ गते वीरगंज महानगरपालिका–१६ इनर्वा बलिरामपुरस्थित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट भन्सार छली मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको रु। २ लाख ५१ हजार ८२० बराबरको कपडा तथा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
सोही युनिटको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट रु। १ लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी तथा टाँगा र घोडा समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, वीरगंज महानगरपालिका–१ बोरिङस्थित सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा रु। १ लाख ७३ हजार ७१० बराबरको कपडा तथा हार्डवेयरका सामान बरामद गरेको थियो।
असोज १७ गते पकाहामैनपुर गाउँपालिका–५ सबैठवा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीबाट खटिएको टोलीले भारतबाट चार जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको रु। ३ लाख बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।यसैगरी, असोज १६ गते वीरगंज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राइपोर्टबाट खटिएको टोलीले भारतबाट भन्सार छली दुई जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको रु। ४ लाख २७ हजार ३८० बराबरको मानिसले प्रयोग गर्ने विभिन्न औषधि बरामद गरेको थियो।
यसैबीच, वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेस बेल्वाबाट खटिएको टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा ना।५ त ४८४० नम्बरको सोनालिका ट्र्याक्टर नियन्त्रणमा लिएको छ। उक्त ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कार्यालय, वीरगंज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान तथा नियन्त्रणमा लिइएका सवारीसाधन सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।