वीरगञ्जमा जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ। वीरगञ्जस्थित ओम पार्टी प्यालेसमा आयोजित महाधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष डा। सिके राउतले गर्नुभएको हो। महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजपाका संसदीय दलका उपनेता गणेश पराजुली, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका प्रसाद यादव र स्वतन्त्र नेता ऋषि धमलालगायतले सम्बोधन गर्नुभएको थियो।
महाधिवेशनमा सहभागी वक्ताहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास तथा राजनीतिक दलहरूले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा धारणा राखेका थिए।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यकारी समिति चयन हुने पार्टीले जनाएको छ।
पार्टीका अनुसार महाधिवेशनको बन्द सत्रमा देशभरबाट करिब दुई हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। बन्द सत्रमा पार्टीको सांगठनिक अवस्था, आगामी कार्ययोजना तथा नेतृत्व चयनलगायतका विषयमा छलफल हुने जनाइएको छ। महाधिवेशनले पार्टीलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।