वीरगञ्जमा आज आयोजित दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रममा ६ जना महिलासहित १५८ जनाले रक्तदान गरेका छन्।
वीरगञ्ज महानगरपालिका–१० रानीघाटस्थित शिवम् सहकारी संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ जना महिलासहित १०६ जनाले रक्तदान गरेका छन्। संस्थाले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो।
त्यसैगरी वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित ब्लड डोनेसन सोकमा दुर्गा पूजा सेवा समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा २७औँ खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ४ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन्।
दुवै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो। रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजकले धन्यवाद व्यक्त गर्दै नियमित रक्तदानले उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।