वीरगञ्जको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर मिलनचोकतर्फ जाने सडक जीर्ण बनेपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन्। सडक मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले आज करिब ३० मिनेट सडक जाम गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी मठ अगाडिको सडकको कालोपत्रे उप्किएर ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी बनेका छन्। सडक जीर्ण हुँदा सवारी चालक तथा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार सडक निर्माण भएको केही वर्षमै कालोपत्रे उप्किएर सडक जीर्ण बनेको हो। सडकको अवस्था बिग्रँदै गए पनि सम्बन्धित निकायले समयमै मर्मत तथा अनुगमन नगरेको उनीहरूको गुनासो छ।
सडकमा रहेका ठूला खाल्डाखुल्डीका कारण सवारीसाधन सञ्चालनमा समेत समस्या भइरहेको स्थानीयले बताएका छन्। विशेषगरी रातिको समयमा सडकको अवस्था थप जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ।
स्थानीयले सडकको तत्काल मर्मत गरी सुरक्षित रूपमा सवारी आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, सडक निर्माणको गुणस्तर र मर्मतसम्भारको अवस्थाबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उनीहरूको माग छ।