जिल्ला प्रहरी कार्यालय पर्साले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिबाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २९ वर्षीय वीरनारायण चौरेसिया र सोही स्थानका २४ वर्षीय राजनारायण चौरेसिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पावरकुमार भट्ट राईका अनुसार उनीहरू दुवैलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अदालतले उनीहरू दुवैलाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा १९ वर्ष कैद र कुल एक लाख ९० हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो। अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई प्रहरीले खोजतलास तथा निगरानी गर्दै पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूको खोजतलास तथा निगरानी गरेको थियो। सोही क्रममा बिहीबार दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।