नेपालीहरूको महान् चाड बडादशैं, तिहार, तथा छठ पर्वलाई मर्यादित, सुरक्षित, शान्तिपूर्ण, सौहार्दपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, पर्साले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वको समयमा हुने मानिसहरूको अत्यधिक आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोबारमा हुने वृद्धि लगायतका अवस्थालाई मध्यनजर गर्दै जिल्लाको शान्ति–सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री बनाउन विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले विभिन्न स्थानमा विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाएको जनाएको छ। चाडपर्वका क्रममा आपराधिक घटना हुन सक्ने, शान्ति–सुरक्षामा खलल पुग्न सक्ने तथा मादक वा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने–खेलाउने, आतसबाजी गर्ने, ठगी गर्ने लगायतका गतिविधिबाट जनधनको क्षति हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षित तवरले चाडपर्व मनाउन तथा कुनै आपराधिक गतिविधि वा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे समयमै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणमा हार्दिक अपिल गरेको छ। साथै, सुरक्षित समाज निर्माणका लागि प्रहरी–नागरिक सहकार्य र नागरिक दायित्व निर्वाह गर्न आग्रह गरिएको छ।