प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुमन शर्मा दुई लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारिखमा रिहा हुनुभएको छ।
पर्सा जिल्ला अदालतको ११ नम्बर इजलासका न्यायाधीश देवीकुमारी चौधरीको एकल इजलासले शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार शर्माले बुधबार साँझ धरौटी रकम दाखिला गरी रिहा हुनुभएको हो।
तत्कालीन लक्ष्मी सनराइज बैंकका प्रमुख कर्जा अधिकृत रहनुभएका शर्माले कर्जा स्वीकृत गरे पनि ऋण उपलब्ध नगराएको र उल्टै धितो लिलाम गरेको आरोप लागेको छ। सोही विषयमा उहाँविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।
अञ्जली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीको जाहेरीका आधारमा शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सोही मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहनुभएका शर्माले बुधबार बिहान पर्सा जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको थियो।
आत्मसमर्पणपछि अदालतले दुई लाख रुपैयाँ धरौटीमा साधारण तारिखमा रिहा गर्न आदेश दिएसँगै शर्माले धरौटी रकम दाखिला गरी रिहा हुनुभएको हो।