बाराको सुवर्ण गाउँपालिका–३, पसगछियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरको अवैध सामान तथा तीनवटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरीले ६ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको साडी तथा धोती कपडा र चार लाख ५० हजार रुपैयाँ मूल्य बराबरको एउटा मोटरसाइकल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार प्रहरी टोलीलाई देखेपछि अन्य व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। उनीहरू फरार भए पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको उहाँले जानकारी दिनुभयो।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो। बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
७