बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरिरहेका छन्।
नवरात्रको अवसरमा वीरगञ्जस्थित गहवामाई मन्दिर, भिन्नमाई मन्दिर, भूतनदेवी मन्दिरलगायतका शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। नवरात्रको पहिलो र दोस्रो दिनको तुलनामा आज तेस्रो दिन भक्तजनको संख्या बढेको गहवामाई मन्दिरका स्वयंसेवकहरूले बताएका छन्।
यसैगरी, देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा पनि माता चन्द्रघण्टाको पूजा आराधना भइरहेको छ। धार्मिक परम्पराअनुसार नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गर्ने चलन रहेको छ।
धर्मशास्त्रअनुसार मस्तकमा घण्टीको आकारको अर्धचन्द्र धारण गरेकी हुनाले देवीको यस स्वरूपलाई चन्द्रघण्टा भनिएको हो। माता चन्द्रघण्टालाई शक्ति, साहस र शान्तिको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता रहेको छ। नवरात्रका अवसरमा भक्तजनहरूले विधिपूर्वक पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गरेका छन्।